कालिमाटी तरकारी बजारको कारोबार आधाले घट्याे

| 2021 May 09 | 08:23 am 2845

काठमाडौं, बैशाख २६ः सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबार करिब आधाले घटेको छ । निषेधाज्ञाअघिको तुलनामा अहिले ५० प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झन्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद–बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको छ । तरकारी कम आए पनि मूल्य भने बढेको छैन ।

सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमी आएकाले मूल्यमा पनि गिरावट आएको छ । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ता संख्यामा ५० प्रतिशतले कमी आएको छ ।

सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको सो समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झन्डै ५० प्रतिशतले गिरावट आएको बताए । उनले सामान्य अवस्थामा झन्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टनमा झरेको बताए ।

समितिका अनुसार हाल यहाँ दैनिक ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजनका तरकारीहरू नेपाली उत्पादकका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.