काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई भनेका छन् ।
मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरु सुन्दै सुधारका लागि अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन् । यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ।
कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा भनेको छ ।
कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो,” उनले भने, “यसलाई कडाइका साथ लागु गर्न स्मरण गराएका छौँ। अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।