कारागारको क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

| 2019 Jan 29 | 12:44 pm 2845

पर्वत, माघ १५ :  जिल्ला कारागार पर्वतमा कारागारको क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी रहेका छन् । उक्त कारागार ‘ङ’ श्रेणीमा सूचीकृत छ । त्यहाँका कारागारमा १५ पुरुष र १० महिला बन्दीको क्षमता भएपनि अहिले सय भन्दा बढी कैदीबन्दी छन् ।

कारागार निमित्त प्रमुख प्रकाश पौडेलका अनुसार कारागारभित्र उचित सुत्ने र बस्नेको व्यवस्था अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राख्नुपरेको बताए । क्षमताभन्दा बढी

कैदीबन्दी भएकाले व्यवस्थापनमा निकै समस्या रहेको जानकारी दिए । कारागारका जीर्ण संरचनाका कारण कैदी भाग्ने त्रास बढ्दै गएको उनले बताए । कैदीबन्दीले पटकपटक कारागारको समस्याबारे प्रशासनलाई जानकारी गराउँदै आएका छन् ।

कारागारमा कैदीबन्दी बस्नका लागि तीन ब्लक छन् । तीनै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक–फरक ब्लक बनाएर राखिँदै आएको छ ।

आर्थिक अभावमा महिला बन्दीगृह निर्माण हुनसकेको छैन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कारागारको समस्याका बारेमा कारागार विभाग र गृह मन्त्रालयमा समेत पटक–पटक जानकारी गराएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.