उजुरी दिने आज अन्तिम दिन

कायममुकायम प्रधानन्यायाधीस मिश्रविरुद्व उजुरी परे नपरेको अझै गोप्य

रिपोर्ट नेपाल | 2018 Sep 05 | 07:08 am 1655

काठमाडौं, भदौ २०: कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ। संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो।

सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालयसमयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो ।

आजसम्म म्याद रहेकाले उजुरीकर्ता र उजुरीहरु गोप्य रहने संसदीय सुनुवाइ समितीले जनाएको छ । परिषद्ले गत विहीवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रलाई सर्वसम्मतले सिफारिस गरेको थियो । परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकृत गरेको थियो । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र उहाँले गरेका फैसलाहरुको प्रश्न सुनुवाई समितिमा उठेपछि उनी अनुमोदन भएनन्।

मिश्र सुनुवाई समितिबाट स्विकृत भए उमेरहदका कारण अगामी पुससम्म प्रधानन्यायाधीशमा बहाल हुनेछन्। मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उहाँको व्यक्तिगत र शैक्षिक विवरण लगायतका विबिध विषयमा उजुरी आएको हुनसक्ने समिती सदस्य पार्वत गुरुङले नेपाल समाचारपत्रलाई जानकारी दिए।

उनले भने,‘आएका उजुरीउपर छलफल हुन्छ । सबै गोप्य भएकाले अहिले केही भन्न मिल्दैन ।’ सुनुवाई समितिका सदस्य पूर्णाकुमारी सुवेदीले पनि उजुरीबारे अहिले केही भन्न नसकिने बताइन्।

उजुरीहरु प्राप्त भएमा सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय वा सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था मिलाउन सचिवालयले आग्रह गरेको छ । विगत पाँच महिनादेखि नेतृत्वबिहीन रहेकाले सर्वोच्चका नितिगत निर्णयहरू प्रभावित हुँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.