कानून मन्त्रालयको कार्यभार लिंदै मन्त्री यादवले भने, ‘अहिले किन छाड्नु सरकार ?’

| 2019 Nov 25 | 04:03 pm 1347

काठमाडौं, मंसिर ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद हेरफेरप्रति अरुची देखाइरहेको चर्चा चलिरहेका बेला उपप्रधान, कानुन तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आज (सोमबार) बाट कार्यभार सम्हालेका छन् ।

यादव सोमबार दिउँसो मन्त्रालय पुगेका हुन् । उनलाई कर्मचारीले स्वागत गरेका छन् । मन्त्रिमण्डल हेरफेरका बेला ‘अपमानजनक’ जिम्मेवारी बताएका आज मन्त्रालयको कार्यभार जिम्मा लिंदै मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीको भएको प्रतिक्रिया दिएका छन् ।

कानून मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने उनले बताएका छन् । ‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानून मन्त्रालय पठाउनु भएको हुनुपर्छ,’ यादवले भने, ‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन । अहिले किन छाड्ने सरकार ?’

यादवले संविधान संशोधन राजनीतिक कुरा भएको बताएका छन् । ‘अब संविधान संशोधन गर्ने बेला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले अली बढी नै माया गरेर हुनुपर्छ कानून मन्त्रालय पठाउनु भयो ।’

मन्त्रालय हेरफेर गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई भएकोले मन्त्रीसँग खासै परामर्श गरिराख्नु नपर्ने उनले बताएका छन् । मन्त्री यादव निजी गाडी चढेर सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालय र्पुयाएका थिए । मन्त्रिमण्डल पुनर्गठन गर्दा यादव भारतमा थिए ।

आफूहरूसँग परामर्श नगरी प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै समाजवादी पार्टीभित्र सरकार छाड्न दवाव थियो । तर पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको थिएन । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा असहमत भएका बुँदाबारे सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छलफल गर्न समाजवादीले वार्ता समिति नै बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.