विराटनगर १८ जेठ : गृहमन्त्री रामबहादुर थापाले कानुन उल्लंघंन गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका उनले शुक्रबार पत्रकारसँग कुरा गर्दै कानुन विपरित भइरहेको हरेक कार्यलाई कानुन अनुसार नियमन गरेर सरकारले मुलुकका आम–नागरिकलाई कानुनी राज्यको प्रत्याभुति गराउने गरी काम अघि बढाएको बताएका छन् ।
उनले विधिको शासनअनुसार मुलुकलाई चलाउन राजनीतिक दबाबविरुद्ध संघर्ष गर्न पनि यातायात क्षेत्र मातहतका निकायलाई सचेत गराएका छन्। बिहीबार यातायात क्षेत्र र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर निर्देशन दिँदै उनले अनावश्यक दबाब सरकारलाई सैह्य नहुने बताए।
गृहमन्त्री थापाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले कडा कानुन ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे। गृहमन्त्री थापाले कतिपय ऐन अपराधमैत्री जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई तत्काल संशोधन गर्ने योजनाअघि सारे। उनले सरकार विकास र समृद्धिको अभियानमा अघि बढेको भन्दै त्यसमा सम्पूर्ण शक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिए।