धनकुटा, जेठ २३: सशस्त्र प्रहरीको गाडि प्रयोग गरी काठ तस्करी गरेको आशंकामा अरुण गुल्म संखुवासभाका इन्चार्ज रामप्रसाद भण्डारीलाई मंगलबार बाहिनीमा तानिएको छ ।
अरुण गुल्म खाँदबारी, संखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा१ झ १६६९ नम्बरको ट्रकमा सखुवाको काठ राखेर सोमबार राति धनकुटाको मूलघाट पुर्याइएको खुलेपछि डिएसपी भण्डारीलार्इ अनुसन्धानका लागि बाहिनीमा तानिएको हो ।
राति करिब ८ बजे मूलघाटस्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको प्रहरी चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रूपमा करिब सय क्युबिक फिट सखुवाको चिरान गरेको काठ फेला परेको थियो । चेक पोस्टमा रोक्न खोज्दा जबरजस्ती उक्त ट्रक अघि बढाएपछि नियन्त्रणमा लिइएको थियो।
बरामद गरिएको काठको बजार मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ। काठसहित आफ्नै विभागको सवारीसाधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्रको पकलीस्थित बाहिनीलाई जानकारी गराएको सशस्त्र प्रहरी मूलघाटका इन्चार्ज इन्स्पेक्टर दुर्गा भट्टले बताए।
यसैबीच मूलघाट सशस्त्रले नियन्त्रण लिएको घटनाबारे मध्यराति नै पकलीस्थित सशस्त्रको बाहिनीबाट डीएसपी डम्बर विष्टको नेतृत्वको टोली छानबिनका लागि पुगेको थियो।
बरामद गरिएका काठ हाल मूलघाटस्थित सशस्त्र प्रहरीको कार्यालयमा राखिएको छ।