तनहुँ, साउन ९ः विभिन्न अपराधीक कार्यमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न
बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा अबैध रुपमा काठ चोरी मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं ५ नागनगेनीका ४८ वर्षीय गोपाल बहादुर भण्डारी, ६० वर्षीय पर्शुराम भण्डारी र ४८ वर्षीय सुर्य बहादुर घर्ती रहेका छन् ।
उनीहरु उपर तनहुँ जिल्ला अदालतको २०६४ जेठ २८ गतेको फैसलाले जनही तीन महिना कैद सजाय तोकिएकोमा उक्त कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
अभियुक्तहरुको खोजतलास गर्ने क्रममा २०७७ साउन ७ गते घरमै फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ गरी उनीहरुलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएकोमा बाकी कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको जनाएको छ ।
त्यसैगरी जालसाजी मुद्दामा फरार रहेका अर्का समबहादुर दरै र दल बहादुर दरैलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
तनहुँ जिल्ला अदालतबाट २०७० फागुन २९ गतेको फैसलाले जनही ३२ हजार ५ सय जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
उनीहरुको खोजतलास गर्ने क्रममा २०७७ साउन ८ गते आफ्नै घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरी उनीहरुलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएको बताएको छ ।