काठमाडौं र झापाले अंक बाँडे

| 2023 Dec 05 | 06:53 am 541

काठमाण्डौ मंसिर १९ । काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा साविक विजेता काठमाडौं र झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

नवप्रवेशी झापासँग रोकिँदा काठमाडौंले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने अवसर गुमायो। काठमाडौंले तीन खेलमा पाँच अंक जोडेको छ। तीन खेलमा एक जित र दुई बराबरीको नतिजा निकालेको काठमाडौं तालिकाको चौथो स्थानमा छ। प्रतियोगिताको उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले पराजित गरेको काठमाडौं दोस्रो खेलमा एफसी चितवनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

शीर्ष स्थानको धनगढीको सात तथा दोस्रो र तेस्रो स्थानमा रहेका ललितपुर र पोखराको समान पाँच अंक छ। तीन खेलमा दुई बराबरी र एक हारको नतिजा निकालेको झापा दुई अंकसहित आठौं स्थानमा छ।

पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजित भएको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ को बराबरी खेल्दै पहिलो अंक जोडेको थियो। सोमबार दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाउन सकेनन्। पाएका केही अवसरमा चुक्दा काठमाडौं र झापाले अंक बाँड्न बाध्य भए।

(अन्नपुर्णपोस्टबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.