काठमाडौं महानगरमा अठार सय सिसी क्यामेरा जडान गरिने

रिपोर्ट नेपाल | 2018 Oct 03 | 02:05 pm 1775

काठमाडौँ, असोज १७ : मुलुकको राजधानी काठमाडौंमा बढ्दो जनसंख्यासँगै विभिन्न अपराधिक क्रियाकलाप बढिरहेको बेला काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८ सय सिसी क्यामेरा जडान गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि नेपाल प्रहरीले काठमाडौं महानगरपालिका भित्र ३ सय ५० स्थानमा सिसी क्यामेरा जडान गरेको थियो । प्रहरीले जडान गरेको सिसी क्यामेरा भएको ठाँउहरुमा अपराधिक तथा स–साना घटनामा कमी आएको पाइएपछि महानगरपालिकाले थप क्यामेरा जडान गर्न लागेको हो।

प्रहरीले जडान गरेका क्यामराका कारण सुरक्षा स्थिती प्रभावकारी भएपछि अब जडान गर्ने अरु एक हजार ४ सय भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामनपाका सूचना प्रविधि महाशाखाले जनाएको छ ।

सिसी क्यामरा जडानको लागि महानगर र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको बताइएको छ । यसअघि नेपाल प्रहरीले कामनपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी गरिएको छ ।

आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा प्रभावकारी हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.