काठमाडौं उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने

| 2020 May 20 | 08:52 am 1682

काठमाडाैं, जेठ ७ः कोरोना भाइरस रोग सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको छ ।

यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।

उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौंमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् ।

काठमाडौं, ललितपुर र भक्तपुर सङ्कट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ ।

जिल्ला समन्वय समिति काठमाडाैंका प्रमुख एवं सीएमसी काठमाडौंका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.