काठमाडौं, कात्तिक २६: मंगलबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए।
न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।
अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताए । बुधबारदेखि देशभरको मौसम अझ धेरै बदली हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।
पश्चिमी वायु सक्रिय हुने लागेकाले बुधबारदेखि देशभर मौसम बदली भएर बिहीबार केही ठाउँमा पानी पनि पर्ने संभावना रहेको उनले जनाए । मंगलबार पूर्वको पहाडी क्षेत्र बाहेकका सबैजसो ठाउँको मौसम सफा हुनेछ ।
पश्चिमी वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको मौसम मंगलबार आशिंकदेखि सामान्य बदली हुने मौसमविद् बासीले जानकारी दिए । तर, अरु ठाउँको मौसम भने सामान्यतया सफा हुने उनको अनुमान रहेको छ ।