काठमाडौंवासीलाई मेलम्ची पुराण

रिपोर्ट नेपाल | 2024 Jan 15 | 08:35 am 633

काठमाडौँ, माघ १। मेलम्ची आयोजनाको पानी आज (सोमबार)देखि पुनः काठमाडौं उपत्यकामा आउने भएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्चीको पानी सात महिनापछि पुनः काठमाडौं उपत्यकामा आउने भएको हो । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर काठमाडौं पठाइएको मेलम्ची आयोजनाको पानी आजदेखि काठमाडौं उपत्यकामा वितरण गर्ने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारबाट पानी पुनर्वितरणको शुभारम्भ गर्नुहुने छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले उपभोक्ताको धारामा बिहानै पानी पठाएर ९ बजे प्रधानमन्त्रीले वितरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाट पुनर्वितरणको शुभारम्भ गरेपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताउनुभयो । उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट पुस २५ गते हेडवक्र्समा पानी पठाइएको थियो । सुन्दरीजल आइपुगेको पानी प्रशोधन केन्द्रबाट काठमाडौंमा रहेका विभिन्न भण्डार केन्द्रका लागि छोडिने अन्सारीले बताउनुभयो । सुरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, केयुकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । त्यसपछि दिउँसो र राति गरेर दुई सिफ्टमा काम गराएर २८ दिनको कार्य योजनाभन्दा अगाडि नै पानी ल्याउन सफल भएको अन्सारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले पठाउन थालेको पानी अब लगातार आउँछ । पछि केही मर्मत गर्नुपर्ने भविष्यको कुरा त अनिश्चित हुन्छ । अब वर्षा अघिसम्म लगातार नै पानी आउँछ । वर्षातमा हाम्रो मुख्य संरचना सुरुङ जोगाउनका लागि दुई-तीन महिना चाहिँ पानी नआउने हुन्छ । अब बर्सातअघि चाहिँ निरन्तर पानी आउँछ ।’

काठमाडौंमा मेलम्चीको पानी आउन अब भौतिक रूपमा समस्या नभए पनि यसअघिको निर्माण व्यवसायी सिएमसीले स्थानीय ठेकेदार र व्यवसायीलाई रकम तिर्न बाँकी रहेकाले सो समस्या समाधान गर्न बाँकी रहेको छ ।

पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ । पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाइ क्रमशः खुमलटार, महांकाल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिनेछ । २०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन ।

यसअघि उपत्यकामा मेलम्चीको पानी ल्याउन खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा पुस ३ गते बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम सुरु गर्ने गरी सम्झौता भएको थियो । गएको साउन २७ र २८ मा आएको बाढीले आयोजनाको हेडवक्र्स बगाएपछि अस्थायी रूपमा समेत पानी ल्याउन समस्या भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने खानेपानी विकास समितिले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । तर, मेलम्चीको पानी बन्द हुँदा अरू स्रोतबाट दैनिक १५ देखि १६ करोड लिटर पानीको मात्र आपूर्ति हुन्छ । झनै सुक्खा याममा यसबाट घटेर दैनिक १०-११ करोड लिटर मात्रै आपूर्ति हुन्छ । त्यसैले वर्षातमा भन्दा पनि हिउँदमा बढी पानीको समस्या हुने केयुकेएलले जनाएको छ ।

बर्सेनि उद्घाटन, छैन दीर्घ योजना
मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन हुन लागेको यो पहिलोपटक होइन । बाढीले बर्सेनि मुहान पुरिएपछि २०७७ देखि २०८० सालसम्म उद्घाटनले निरन्तरता पाइरहेको छ । मेलम्चीको पानी वितरण उद्घाटन राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूले वर्षैपिच्छे गर्दै आएका छन् । यसअघि पनि बारम्बार राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूले पानी वितरण उद्घाटन गर्दै आएका थिए । पाँच वर्षमा सक्ने भनेर निर्माण सुरु गरिएको मेलम्ची खानेपानी आयोजना २२ वर्षमा ३५ अर्ब खर्चेर २०७७ सालमा काठमाडौंमा पानी ल्याउन सफल भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ को फागुन २२ मा सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टको फ्ेलसिङ टनेलको हाइड्रोमेकानिकलको बटम थिचेर पानी खसाल्नुभएको थियो । त्यसको एक महिनापछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डमा बनाएको धारामा पानी खोलेर उद्घाटन गर्नुभएको थियो ।

२०७८ असारको बाढीले मुहान पुरिएपछि पुनः २०७९ वैशाखमा अस्थायी रूपमा काठमाडौंमा पानी वितरण थालिएको थियो । त्यसबेला तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्नुभएको थियो । त्यसको एक महिनापछि जेठमा सुरुङ बन्द गरिएको थियो ।
त्यही वर्ष मंसिर २३ गते खानेपानी मन्त्री चौधरीले काठमाडौंको महांकालस्थित पानी वितरण केन्द्रबाट वितरणको दोस्रोपटक सुरुवात गर्नुभएको थियो । त्यसपछि फेरि २०८० को असारमा सुरुङ बन्द गरिएको थियो । गत साउनको अन्तिम साता दुई दिन आएको बाढीले २०७८ मा जत्तिकै १५ देखि २० मिटर अग्लो गेग्रानले मुहान पुरिएको थियो ।

०७७ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारीले गरेको उद्घाटनमा चित्त नबुझेपछि मन्त्रीहरू आफैँ लावालस्कर लागेर मेलम्ची पुगेका थिए । २०७७ असारमा सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पानी पथान्तरण गर्नुभएको थियो । तर, त्यही असार ३० गते सुरुङको ढोका भत्केपछि पानी पथान्तरण गर्न तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सांसद शेरबहादुर तामाङ लावालस्कर लिएर मेलम्ची पुग्नुभएको थियो ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.