काठमाडौं, जेठ २०: काठमाडौंमा मात्रै हरेक महिना २० जनाको ‘ब्रेनडेथ’ (मष्तिस्क घात) का कारण ज्यान जाने गरेको तथ्याकं सार्वजनिक भएको छ ।
उपत्यकाका ठूला अस्पतालले उपलब्ध गराएको तथ्याकंअनुसार ओम अस्पतालमा औसतमा महिनामा दुईजनाको ‘ब्रेनडेथ’ हुने गरेको छ। त्यस्तै, न्युरो अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा ६, वीर अस्पतालमा दुई, शिक्षण अस्पतालमा तीनजनाको हरेक महिना ‘ब्रेनडेथ’ हुने गरेको स्वयं अस्पतालहरूले जानकारी दिएका छन्।
२४सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ। तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन्। ‘ब्रेनडेथ’को कुनै घटना नभएर प्रत्यारोपणमा खबर नगरेका भने होइनन् ।
महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका खबर नयाँ पत्रिका दैनिकमा छ । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ। केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ एक व्यक्तिको अंगबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताउँछन्। तर, निजी चिकित्सकहरू भने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाउँछन्।
डा. श्रेष्ठका अनुसार अस्पताल र पीडितको कुराअनुसार नै ‘ब्रेनडेथ’ उपलब्ध गराउने परिवारका सदस्यलाई उपचार गर्दा लागेको खर्च र अस्पताललाई एक लाख रुपैयाँ दिने निर्णय भइसकेको छ। यति हुँदा पनि अस्पतालहरू नै घटना लुकाइरहेका छन्। यो अवस्थाले स्वास्थ्य मन्त्रालय पनि आश्चर्यमा छ।