काठमाडौँ, १ माघ / थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो । काठमाडौंमा बसोवास गर्दै आएका थारू समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै माघी पर्व मनाएका छन् ।
माघीको अवसरमा काठमाडौंको वसन्तपुरबाट थारु समुदायका युवाहरूले नाचगान गर्दै र्याली निकालेका थिए । र्याली वसन्तपुरबाट निस्केर टुँडिखेलसम्म पुगेर कार्यक्रममा परिणत भएको थियो।
माघेसंक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघले पनि काठमाडौंको टुँडिखेलमा दुईदिने महोत्सवको आयोजना गरेको छ । नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ ।
यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।
छोरीचेलीलाई गिठ्ठा, भ्याकुर, पिँडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरूकै घर–घरमा पठाइदिने गरिन्छ ।