काठमाडौं, पुस १ः गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ ।
सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि २ लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या १ सय ९६ गरेर २ सय ३० रहेको छ ।
बाग्लुङ र पर्वत जिल्लाको लाभग्राही संख्या शून्य रहेको छ । म्याग्दीको १, पाल्पाको २, खोटाङ ३, भोजपुर ५, गुल्मी ७, स्यांग्जा ७ दोलखा जिल्लाको लाभग्राही संख्या १२ रहेको छ ।
भूमिहीनले घडेरी किन्न २ लाख रुपैयाँ पाउने सबैभन्दा धेरै लाभग्राही संख्या भने नुवाकोटमा २ सय ६६, गोरखामा २ सय ३५, मकवानपुरमा १ सय ७८, सिन्धुपाल्चोकमा १ सय ७७, काभ्रेपलान्चोकमा १ सय ३९ लाभग्राही रहेका छन् । नुवाकोटमा आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने लाभग्राही शून्य रहेका छन् ।
मकवानपुरमा भने आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने भूमिहीन लाभग्राही सबैभन्दा धेरै ५ हजार १ सय ८७ रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । सिन्धुलीमा पनि ३ हजार १ सय ४ लाभग्राही, चितवनमा १३ सय ७९, तनहुँमा ३ सय १०, काभ्रेमा १ सय ८१ रहेका छन् ।
प्राधिकरणले अनुदानमा खरिद गरिएको जग्गाका लागि श्रीमान÷श्रीमतीको संयुक्त नाममा खरिद गरिनुपर्ने, १० वर्षसम्म बेचबिखन गरी हक हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको छ ।
प्राधिकरणले जोखिमयुक्त बस्तीका लाभग्राही तथा भूमिहीन भूकम्पपीडित लाभग्राहीअन्तर्गत जोखिमयुक्त बस्तीका लाभग्राही संख्या ४ हजार ६ सय ८० र कार्यकारी समितिबाट कायम भूमिहीन लाभग्राहीको संख्या १३ सय ४५ कायम गरेको छ । जसमा काठमाडौंको संख्या शून्य रहेको छ भने ललितपुरको ६९ रहेको छ । सरकारले जोखिमयुक्त बस्तीका लागि पनि सहुलियतको व्यवस्था गरेको छ । राजधानी दैनिकबाट