काठमाडौँ १३ जेठ / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्ताको बलमिच्याई र सहकारी ठगीको विरोध गर्दै सडकमा पनि विरोध सुरु गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिमआइतबारदेखि सडकमा पनि विरोध थालेको हो ।
नेपाली कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा बिशाल विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । विरोध प्रदर्शनपछि खुला सभालाई नेताहरुले सम्बोधन गरेका छन् ।
सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको, देशमा धेरै बिकृति भित्राएको आरोप लगाएका थिए।
गृहमन्त्री लामिछानेले आफूविरुद्ध समाचार लेखेको प्रतिसोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै प्रहरी पठाएर धरपकड गरेको तथा संसद्मा सम्बोधन गर्ने क्रममा कांग्रेसका नेता र सांसदहरुमाथि प्रमाणहीन लाञ्छना लगाइएको विषयलाई विरोध प्रदर्शनका क्रममा जोड तोडका साथ उठाएका थिए ।
नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने लगायत नाराहरु लेखिएका प्ले-कार्ड प्रदर्शन गरेका छन् ।