काठमाडौं, पुस १० : चिसो निरन्तर बढ्दो छ भने तापक्रम निरन्तर ओरालोमा झरिरहेको छ। चिसो बढेसँगै तराईमा तुवाँलव लागेको छ। तराईका जिल्लामा तीन दिनदेखि हुस्सु लागेको छ भने हिमाली जिल्ला जुम्ला, हुम्ला, मनाङ र मुस्ताङमा खोलासमेत जम्न थालेका छन्।
मंगलबार बिहान काठमाडौंको तापक्रम २ दशमलव ६ डिग्री मापन गरिएको छ भने जुम्लाको तापक्रम माइनस ६ डिग्री मापन गरिएको छ। यसअघि काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको थियो भने जुम्लाको माइनस ६ दशमलव ५ डिग्री मापन गरिएको थियो।
जिरीको तापक्रम माइनस २ डिग्री छ भने जोमसोमको तापक्रम माइनस २ दशमलव ५ डिग्री पुगेको छ। दिपायलको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री मापन गरिएको छ भने लुम्लेको तापक्रम ४ डिग्री मापन गरिएको छ।
आज पुस १० गते (मंगलबार) दिउँसो देशको पुर्वी पहाडी भू-भागहरुमा आंशिक बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १६ मिनेटमा हुनेछ।