काठमाडौं, असार २८ : काठमाडौं महानगरकाले यसअघि प्रदेश ३ काे सरकारद्वारा निर्धारित यहाँका जनप्रतिनिधिकाे तलब कम भएकाे भन्दै बढाउन प्रस्ताव गरेकाे छ ।
महानगरका जनप्रतिनिधिहरुले तलव-सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाउँदै अाएका छन् । उनीहरूले देशमा पछिल्लाे समय महंगी बढेकाे र साेअनुसार तलमा दिन नसकेकाे भन्दै प्रदेश सरकारकाे अालाेचना समेत गरेका छन् ।
काठमाडौं महानरपालिकाको परिषद बैठकले महानगरपालिकाका प्रमुख (मेयर)काे न्युनतम तलब ५५ हजार पुर्याउन प्रदेश सरकारलाई प्रस्ताव गरेको हो । साथै सबै जनप्रतिनिधिको सेवा सुविधा वृद्धि गर्न अाग्रह गरिएकाे छ ।
प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार हाल महानगरका मेयरले मासिक ४६ हजार तलब मात्रै बुझ्दै अाएका छन् । यसमा भत्ता लगायत अन्य अतिरिक्त सुविधा अलग्गै हुन्छ । तर याे कम भएकाे भन्दै महानगरले मेयरकाे तलब ५५ हजार पुर्याउन माग गरेको हाे । त्यस्तै उपमेयरको तलब अहिले ४० हजार २ सयबाट बढाएर ४८ हजार बनाउन प्रस्ताव गरिएको छ ।
महानगरपालिका भित्रका सबै वडाध्यक्षको न्युनतम तलब पनि ४० हजार पुर्याउन प्रस्ताव गरिएकाेको छ । हाल वडाध्यक्षहरूकाे तलब २८ हजार ताेकिएकाे छ ।