महोत्तरी, बैशाख १३ः लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बर्दिबास नगरपालिका –३ स्थित पाटुमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा उक्त बसका सह–चालक दोलखाको तामाकोसी –२ का बाबुराम विश्वकर्मा रहेकाे इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।
बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर उनको घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर साहले बताए। दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बा ३ ख ४०३६ नम्बरको बसमा उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गर्दा शनिबार बिहान चार बजे दुर्घटनामा परेको हो। दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ।
विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।
उक्त बसमा ३५ जनासवार रहेकाे बताइएकाे छ । दुर्घटना बस्ति नजिकै भएकाले गाउँलेहरुले बसका यात्रुहरुलाई उद्धार गरेका थिए।