नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाली काङ्ग्रेस भानु नगर समितिले दशैँ, तिहार, छठ, नेपाल संवत्का अवसरमा भानु नगरपालिका–१ मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘काङ््ग्रेसभित्र भएका कमी–कमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।’
वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काङ्ग्रेसभन्दा कर्मशील काङ्ग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काङ्ग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । ‘कम्युनिष्ट बिग्रेर काङ्ग्रेस बलियो हुने होइन, आफैंभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ’, उनले भने ।
काङ्ग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता मिल्ने विश्वास नेता पौडेलले व्यक्त गरे ।
एउटा चुनाव हारे पनि राजनीति नहारेको भन्दै उनले काङ्ग्रेसको सङ्गठनले चुनाव हारे पनि सिद्धान्तले भने जितेको दाबी गरे । हरेक परिवर्तनको नेतृत्व काङ्ग्रेसले गरे पनि अहिले चुनाव हारेपछि समृद्धिको नेतृत्व काङ्ग्रेसले गर्न नपाएको उनको भनाइ छ ।
नेता पौडेलले देशमा अहिले भ्रष्टाचार, हत्या, हिंसा बढेको उल्लेख गर्दै यसको नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए । ‘चाडपर्वका क्रममा जनतामाथि महङ्गी थोपारिएको छ, वाइडबडी खरिदमा भ्रष्टाचार भएको छ, बूढीगण्डकी विनाप्रतिस्पर्धा जिम्मा दिइएको छ, तर यसको नियन्त्रणका लागि सरकार असफल भएको छ’– पौडेलले भने ।