कांग्रेस सभापति देउवाले तीनजना केन्द्रीय सदस्य मनोनित गर्ने

रिपोर्ट नेपाल | 2018 Jun 07 | 01:55 pm 1001

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यहरू मनोनयन गर्न लागेका छन् । बुढानिलकण्ठ सुत्रका अनुसार स्व. नेता खुमबहादुर खड्काकी श्रीमती शिला खड्कासहित तीनजना केन्द्रीय समितिमा मनोनित गर्ने तयारी गरिएको हो । पार्टी विधानको धारा २१ बमोजिम १३औं महाधिवेशनको २७ महिनापछि सभापति देउवाले केन्द्रीय सदस्यहरु मनोनित गर्न लागेका हुन् ।

अधिवेशनमा सभापतिको निर्वाचनमा देउवालाई सहयोग गरेका खड्काले उपसभापति पदको आकांक्षा गरेको भए पनि उक्त आकांक्षा पूरा नहुँदै खड्काको गत चैतमा स्वास्थ्य उपचारका क्रममा नयाँदिल्लीमा निधन भएको थियो । प्रभावशाली नेता खड्काको निधनपश्चात उनको साथमा रहेका केन्द्रीय सदस्यहरूलाई आफ्नो पक्षमा राखिराख्न पनि सभापति देउवाले खड्कापत्नी शिलालाई केन्द्रीय समिति सदस्यमा मनोनित गर्न लागेका अनुमान गरिएको छ । सभापति देउवाले पूर्वकेन्द्रीय सदस्य लम्जुङका दिलबहादुर घर्ती र काभ्रेका पूर्व जिल्ला सभापति शिव हुमागाइँलाई पनि केन्द्रीय समिति सदस्यमा मनोनित गर्दैछन् ।

विद्यार्थी जीवनकालदेखि नै कोइराला परिवारनिकट रहेर पार्टीमा क्रियाशील घर्ती गुटका हिसाबले अहिले महामन्त्री शशांक कोइराला निकट मानिन्छन् । काभ्रेका पूर्वजिल्ला सभापति एवम् पुर्वसांसद हुमागाइँ भने गत महाधिवेशनदेखि तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला निकट रहेर केन्द्रीय सदस्यमा चुनाव लडी पराजित भएका थिए । देउवाले विधानबमोजिम मनोनित गर्न पाउने २१ सदस्यमध्ये अब दलित कोटाबाट एकजना सदस्य मनोनित गर्न बाँकी रहेको छ । त्यसका लागि पूर्वसंविधानसभा सदस्य शभ्मु हजारा पासवान र बाँकेकी आशा विकमध्ये एकलाई सभापति देउवाले मनोनित गर्न सक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.