कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

| 2024 Apr 01 | 03:16 pm 569

काठमाडौं, १९ चैत / आगामी वैशाख १५ मा हुने इलाम— २ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

उम्मेदवारको टुङ्गो लगाउन कांग्रेसले मंगलबार कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । कार्यसम्पादन समितिको बैठकअघि पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल हुन लागेको हो ।

छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम—२ को उम्मेदवारका सन्दर्भमा रिपोर्ट राख्ने छन् । कांग्रेसले महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेलाई इलाम—२ को अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।

निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम— २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.