काठमाडौं, भदाै ८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ ।
कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन गर्दै पार्टीका सबै तहलाई मुलुकको नयाँ संरचनाअनुसार लैजाने निर्णय गरे पनि महासमिति सकिएको २० महिना पूरा हुँदासमेत समायोजनलाई अन्तिम रूप दिन सकेको छैन ।
पार्टीको १४औं केन्द्रीय महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको कांग्रेसका लागि महाधिवेशनमा जानुअघि नै समायोजन सक्नुपर्ने बाध्यता छ ।
कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले महाधिवेशन मितिबाहेक पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा पटक पटक हेरफेर गरिसकेको छ ।
जसअनुसार कांग्रेसले साउन २०७६ मा नै पहिलो पटक समायोजन सक्ने भनेको थियो । त्यसपछि सोही सालको मंसिर हुँदै फागुनमा नै संरचना समायोजनको काम सक्ने बताएको थियो । पटक पटकको मिति त्यसै टारेको कांग्रेसले फेरि गएको १५ असारसम्म समायोजन सक्ने भन्दै मिति नै तय गरेको थियो ।
यसैगरी, पछिल्लो पटकसमेत गत १० साउनसम्ममा सबै तहका संरचनाको समायोजन सक्ने भन्दै केन्द्रीय समितिबाट मिति नै तय गरेको थियो । पछिल्लो पटक तोकिएको मितिमा एक महिना नाघ्नै लाग्दा पनि कांग्रेसले समायोजनको काम सकेको छैन ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ६५ जिल्लाभन्दा बढीको समायोजन सकिएको तर केही जिल्लामा भने कोरोनाका कारण वडा तह तथा स्थानीय तहका समायोजन बाँकी रहँदा समस्या भएको बताए । राजधानी दैनिकबाट