काठमाडौँ फागुन २३: पुनस्थापना पछिको पहिलो प्रतिनिधि सभाको बैठकमै नेकपाका प्रचण्ड-नेपाल समूहले बहिष्कार र कांग्रेसले अवरुद्ध गरेपछि फागुन २६ गतेसम्मका लागि संसद स्थगित भएको छ । बैठक फागुन २६ गते बुधवार दिनको १ बजे बस्ने गरि सूचना टाँस गरिएको छ ।
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीका विषयलाई लिएर नेकपाको प्रचण्ड-नेपाल पक्षले बहिष्कार गरेको थियो भने नेपाली कांग्रेस र जसपाले नाराबाजी गरेका थिए ।
कांग्रेस र जसपाले संसदमा नाराबाजीगरे पछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । तर १० मिनेटपछि पनि बैठक बस्न सकेन । त्यसपछि सूचना टाँस गरेर बैठक ३ दिनका लागि स्थगित गरिएको हो ।