कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : डा. कोइराला

| 2024 Jul 03 | 11:42 am 1529

काठमाडौँ १९ असार/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् ।

उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत व्यक्त गरे । कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद रहेको कोइरालाको भनाई थियो ।

देशलाई दुरावस्थामा पुर्‍याउने अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गरी समग्र देश र दललाई बहुमत ल्याउने किसिमको निर्वाचन प्रणालीलाई अवलम्बन गर्न दुई ठूला दलको समीकरणले महत्वपूर्ण योगदान पुर्‍याउने कोइरालाले बताए । नयाँ समीकरण अनुसार बन्ने नयाँ सरकार बहुमतको हुने र यसले गर्ने निर्णय दिर्घकालीन हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको बताए । उनले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गरे । अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.