कांग्रेस महासमितिमा बन्द सत्र जारी

| 2018 Dec 16 | 12:54 pm 2086

काठमाडौं, पुस १ : नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ । शनिबारबाट काठमाडौंमा सुरुभएको महासमितिमा आइतबार आजबाट बन्दसत्र सुरु भएको हो ।

बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथिको छलफल सुरु भएको छ।

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । मङ्सिर २९ गते बैठक शुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.