काठमाडौं, साउन २२: नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित दोहोरो भूमिका खेलेको आरोप लगाएको छ। मंगलबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निश्कर्ष निकालेको हो।
सो पार्टीको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले आफ्नो पदको प्रतिष्ठा र जिम्मेवारी विपरित दूराशयपूर्ण ढंगले दीपकराज जोशीलाई आफै प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने र आफैं अस्वीकृत गराउने दोहोरो भूमिका खेलेका कारण नियुक्ति प्रक्रिया दुर्घटना परेको निश्कर्ष निकालिएको छ । कांग्रेसले यो घटनालाई दुर्भाग्यपूर्ण भएको जनाउँदै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भएको दाबी गरेको छ ।
विज्ञप्त्मिा भनिएको छः ‘यो घटनालाई निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेस आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गर्दछ ।’