काठमाडौं, मंसिर २१ः सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशन शुरु हुन चार दिन मात्र बाँकी छ । तर, सभापति लगायतका मुख्य पदमा क–कसको उम्मेदवारी रहने भन्ने टुंगो लागेको छैन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार अनौपचारिकरूपमा आफू सभापतिको पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर, अन्य पदमा कसलाई उठाउने भन्ने टुंगो लगाउन सकेका छैनन् । सभापतिबाहेकका पदमा आफ्ना धेरै सहयोगीहरू आकांक्षी रहेको तथा अर्को गुटका असन्तुष्ट पक्षलाई तान्ने रणनीतिमा रहेका कारण सभापति देउवाले आफ्नो टिम बनाउन नसकेको प्रस्ट छ ।
देउवाइतर गुटमा भने पदाधिकारी मात्रै होइन सभापतिका आकांक्षीसमेत धेरै रहेको हुँदा कसैले पनि टिम बनाउन सकिरहेका छैनन् । अहिले चर्चामा आएका सबैले सभापतिमा उम्मेदवारी दिन्छन् भन्ने पनि टुंगो छैन । सामान्यतया नेपाली कांग्रेसमा १३औं महाधिवेशनपछि देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह स्पष्टरूपमा सक्रिय छ । देउवाको पुरानो समूहबाट विमलेन्द्र निधिले विद्रोह गरेर नयाँ गुट सिर्जना गरेका छन् भने पौडेल समूहमा आधा दर्जनभन्दा बढी गुट–उपगुट छन् ।
सिटौला समूहबाट गगन थापाले विद्रोह गरी पौडेल समूहमा प्रवेश गरे पनि थापाको गुट कुन हो भन्ने स्पष्ट छैन । पौडेल समूहमा अहिले पौडेलबाहेक डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसीहरूको छुट्टाछुट्टै उपगुट छन् । सबै उपगुटका नेतृत्वकर्ताहरूले आफूलाई सभापतिमा दाबी गरिरहेका छन् तर एक्लै अघि बढ्ने हैसियत उनीहरुको देखिन्न ।
अहिलेसम्म ६ प्रदेशसहित ६१ वटा जिल्लाको परिणाम आइसकेको छ । सर्लाही र महोत्तरीका प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन नसक्दा प्रदेश नं. २ को अधिवेशन रोकिएको छ भने १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । जसमध्ये चारवटा प्रदेशमा देउवा पक्ष र दुईवटा प्रदेशमा पौडेल पक्ष विजयी भएका छन् । जिल्ला र प्रदेश अधिवेशन तथा मत परिणामले कांग्रेसभित्रको ‘गुट’ केन्द्रदेखि जिल्ला र गाउँसम्म नै स्थापित भएको छ । प्यानलभन्दा बाहिर ५–७ प्रतिशतभन्दा बढी मत नगएको कांग्रेसी रणनीतिकारहरूको विश्लेषण छ । उम्मेदवारको व्यक्तिगत प्रभाव र चुनावी खर्चले ती मत प्रभावित भएको उनीहरूको ठम्याइ छ ।
सबै ठाउँका आफ्ना उम्मेदवारहरूले प्राप्त गरेको न्यूनतम मतबाट १० प्रतिशत घटाएर आफूहरूले पाउने वास्तविक मत संख्याको आँकडा निकाल्ने क्रम चलिरहेको छ । सबै पक्ष यही जोड–घटाउमा लागेका छन् । यसकै आधारमा अरूलाई आफ्नो पक्षमा तान्न के गर्नुपर्छ भन्ने रणनीतिमा नेताहरूको ‘हार्डकोर टिम’ सक्रिय छ । सामान्य अर्थमा पौडेल पक्षबाट सभापतिका उम्मेदवारहरू धेरै देखिँदा देउवा बलियो देखिन्छन् । तर, अन्तिम समयमा पौडेल समूह एकजुट भई साझा उम्मेदवार खडा गरेको स्थितिमा देउवालाई गाह्रो पर्न सक्ने प्राम्भिक आँकलन छ ।
‘कथंकदाचित देउवा समूहबाट थप विद्रोह भयो, पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत कसैको आएन र दोस्रो चरणको निर्वाचन गर्नुपर्ने स्थिति भयो भने निश्चितरूपमा नै देउवाले चुनाव जित्छन्, किनकि मतदाताको मनोविज्ञान परिर्वतन हुने मात्रै होइन, भोटर खोस्न देउवा सिपालु पनि छन् । उनमा सरकार बनाउन सांसद जुटाउने अभ्यासको अनुभव पनि छ । अझ यति बेला त उनी प्रधानमन्त्री हुन्, त्यसको राप र ताप कार्यकर्तालाई पर्छ नै । तसर्थ, देउवालाई पहिलो चरणमा नै हराउने चुनौती छ ।
उता, देउवाले आफ्नो पक्षलाई थामथुम गर्दै राख्ने र अर्को पक्षबाट धेरै उम्मेदवार उठाउने साथसाथै विभिन्न आश्वासन दिएर आफूतिर तान्ने रणनीति बनाइरहेको देखिन्छ । यसका निम्ति उपसभापतिमा दाबी गरिरहेका विजय गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीका आकांक्षी बालकृष्ण खाँड, डा. प्रकाशशरण महतलगायतलाई उम्मेदवारबाट पाखा राखेर आफूइतरका नेताहरूलाई मनाउन प्रयाससमेत भइरहेको छ ।अहिले कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइरालालगायतका नेताहरूको शक्ति (मतसंख्या) कति छ भनेर विश्लेषण गर्ने र एक चरण उनीहरूलाई लोभ्याउने काम पनि भइरहेको छ । तर, देउवाले सकारात्मक जवाफ भने पाएका छैनन् । त्यस मार्काका नेताहरू आफैं साझा उम्मेदवार बन्ने दाउमा छन् ।
पौडेल पक्षले अर्कैलाई उम्मेदवार बनायो र त्यहाँ आफ्नो भूमिका गौण हुने स्थिति देखा पर्याे भने नेताहरुले रातारात गुट परिवर्तन गर्न सक्छन् ।यता, अहिलेसम्म देउवासँग मुख फोर्न डराइरहेका र गुटको उम्मेदवार बन्ने आशा राखेका देउवा पक्षका नेताहरू प्यानलमा नपरे विद्रोह गर्ने तयारीमा छन् । यद्यपि, सुसुप्त अवस्थामा रहेको त्यो आवाजलाई देउवाले खासै महत्व दिएका छैनन् । यसो भएको खण्डमा देउवा आफूले चुनाव नहारे पनि पदाधिकारी भने हार्ने सम्भावना बढी छ ।
देउवाका सहयोगीहरूबीच एक–आपसमा मिलाप छैन । बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउदबीच राम्रो सम्बन्ध देखिँदैन । अर्कोतर्फ डा. प्रकाशशरण महतसँग धेरैको कुरा मिल्दैन । देउवालाई गच्छदार, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, रमेश रिजाललगायतका सारथीलाई मनाउन चुनौती छ । देउवाले भुँइको टिप्न खोज्दा खल्तीको समेत खस्नसक्ने खतरा पनि उत्तिकै छ । अकोतर्फ अहिलेसम्म कसैले नपत्यासका तर कार्यकर्ताका बीच छाप रहेका कुलबहादुर गुरुङ, नरहरि आचार्य, महेश आचार्यदेखि सुजाता कोइरालासम्मको भूमिका के हुन्छ भन्ने विषयले पनि कांग्रेस राजनीतिलाई प्रभाव पार्छ । नेपाल समाचारपत्रबाट