कांग्रेस कार्यालयको धर्ना पार्टी बलियो बनाउन कि विपक्षीलाई जात्रा देखाउन ?

रिपोर्ट नेपाल | 2021 Aug 26 | 07:19 pm 3817

काठमाडौं, भदौ १०ः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिखेर प्रमुख प्रतिपक्ष दलले भन्दा आफ्नै पार्टी भित्रका प्रतिपक्ष बनेकाहरुले काम गर्न दिएका छैनन् ।

गएको निर्वाचनमा जनताले असक्षम भन्दै कारबाही गरेका कांग्रेस भित्रका एक थरी नेताहरुले कांग्रेसको अस्तित्व नै समाप्त पार्नेगरी हात धोएर लागेका छन् ।

शेरबहादुर देउवा एउटा व्यक्तिलाई केन्द्रबिन्दु बनाएर पार्टी र सरकारबाट असफल बनाउन त्यो समुह अनेक बखेडा झिकेर लागि परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहमताका कारण उनकै पार्टीको बिद्रोहमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएका बेला प्रधानमन्त्रीलाई सहयोग गरी विगतमा आफूलाई असक्षम सावित गरेका जनता कहाँ सक्षम बनेर जानुको सट्टा कृयाशिल सदस्यको बखेडा झिकेर सभापति देउवालाई पार्टी र सरकारको काम गर्न कठिनाई बनाइएको छ ।

कृयाशिल छानविन समितिले प्रतिवेदन बुझाएपछि कृयाशिल सदस्य सार्वजनिक गर्नका लागि माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने कांग्रेसीहरुले विगतका महाधिवेशनलाई पनि फर्केर हेर्नुपर्ने हुन्छ ।

गिरिजाप्रसाद कोइराला सभापति र सुशिल कोइराला महामन्त्री भएका समयमा पोखरामा भएको महाधिवेशनमा १६ जिल्लालाई सहभागी नगराई तत्कालीन काठमाडौंका सभापति प्रकाशमान सिंहलाई समेत सभापतिबाट हटाएको कुरा पनि अनसनकारीले स्मरण गर्न आवश्यक छ ।

शेरबहादुर देउवा सभापति बनेकै दिनदेखि अनेक बखेडा झिकेर भागबण्डा खोज्नेहरुले यतिखेर कृयाशिल सार्वजनिकको माग गर्नु भनेको आफूहरुले रोपेको कागतीको बोटमा अहिले सुन्तला खोजे सरह हो । कृयाशिल सदस्य कांग्रेसको साइडबाट सार्वजनिक भए लगत्तै बिरोध गर्नेहरुले गिरिजाप्रसाद कोइराला सभापति भएका बेला निर्वाचन अधिकृतले निर्वाचन हुने दिन खामबन्दीबाट नाम टाँसेको कुरालाई पनि बिर्सनु हुँदैन ।

अहिले बिरोध कांग्रेस रक्षाको लागि हो भने माग महाधिवेशन सुनिश्चिताको हुनुपर्ने थियो । विगत महाधिवेशनमा निर्वाचन भइरहेका बेला फ्याक्सबाट कृयाशिल सदस्य थपिएको विषयमा विरोध गर्नेलाई कारबाहीको डण्डा चलाएको पनि बिरोध गर्ने महाशयहरुले स्मरण गर्नुपर्छ ।

सभापति देउवाले राम्रो काम गर्न खोजे नराम्रो देख्ने र नराम्रो गर्न उक्साउनेलाई आम कांग्रेस कार्यकर्ताले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

हातमा आएको माछालाई भ्यागुतो सम्झदा आगामी निर्वाचनमा आफैले भ्यागुतो समाउनु पर्ने कुरालाई ध्यानमा राखि बिरोधका लागि बिरोध होइन सक्षम र सवल कांग्रेस बनाउन सभापतिलाई सहयोग गर्नुपर्ने कांग्रेसका बहुमत कार्यकताको भनाई रहेको छ ।

कांग्रेस कार्यालयमा भएको धर्ना पार्टीलाई बलियो बनाउनको लागि कि प्रतिपक्षलाई जात्रा देखाउन भन्ने प्रश्न पनि कांग्रेसीहरुले उठाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.