कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जनाले गराए स्वास्थ्य परिक्षण

रिपोर्ट नेपाल | 2024 Mar 24 | 11:34 am 1405

चितवन ११ चैत। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन् । चितवन कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसैगरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन् । तीमध्ये एक सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो ।

शिविरमा १० लाखबराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नशा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटुरोग र छाला तथा यौनरोगसम्बन्धी सेवा प्रदान गरिएको थियोे ।

नेपाली कांग्रेस चितवनले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.