कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

| 2023 Jan 08 | 08:24 am 1249

काठमाडौं, पुस २४ः प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत नदिने बताएका हुन् ।

उनले नेपाल समाचारपत्रसँग भने– ‘हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ ।’संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा विश्वासको मत दिने कुरा कांग्रेसमा छलफलको विषय नै नभएको उनको भनाइ छ । संसदीय दलको बैठकपछि पत्रकारहरूसँग शनिबार महामन्त्री थापाले भने– ‘पुस २६ गते संसदमा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौं । त्यो बैठकमा निर्णय गर्नेछौं । कांग्रेस पार्टीले यो बेलामा संसदभित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत माग्दा पहिलो दलको हैसियतले कांग्रेसले विश्वासको मत दिदैन ।’

महामन्त्री थापाले कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन र निर्वाचनपछिको राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए । गठबन्धन गरेको देखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने उनको भनाइ छ । थापाले भने– ‘उक्त बैठकमा निर्वाचन र निर्वाचनपछिको राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रूपमा छलफल गर्नेछौं ।

तर, संसद्का सशक्त प्रतिपक्षको भूमिका खेल्ने कुरामा कांग्रेस एक ढिक्का छ ।’दाहाललाई विश्वासको मतमा असफल बनाएर नयाँ गठबन्धन बनाउन कांग्रेस लागेको भन्ने समाचार सार्वजनिक भएको बेला थापाले राजनीतिक दलका नेताहरूसँग सामान्य छलफल भएको तर त्यो सरकार गठनका लागि नभएको प्रष्ट पारे । ‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो’, थापाले भने, ‘शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो ।’ पार्टीको आन्तरिक छलफलका सन्दर्भमा उनले कांग्रेस अब नीति अधिवेधनमा अगाडि बढ्ने बताए ।

कांग्रेससहितको पाँच दलीय गठबन्धन तोडेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँगको गठबन्धन गरी प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ मा विश्वासको मत लिँदै छन् । यो अवस्थामा संघीय संसदमा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमासमेत बैठकमा छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.