काठमाडौं, पुस २०ः नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले केन्द्रदेखि वडा तहसम्म आन्दोलनको घोषणा गरेको हो । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।
पार्टीका शीर्ष तहमा भएको सहमतिअनुसार पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय भएको हो । बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आफू आन्दोलनकै पक्षमा रहेको बताए ।
देउवाको भनाइ उधृत गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले भने– ‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध अब आन्दोलनको विकल्प छैन, म आन्दोलनकै पक्षमा छु, आन्दोलनलाई थप सशक्त बनाएर लैजानुको विकल्प छैन ।’
केन्द्रीय समितिको बैठक बस्नुअघि शीर्ष तहमा आन्दोलनको विषयमा लामो छलफल भएको थियो । शीर्ष तहमा भएको समझदारीअनुसार केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमलाई आन्दोलनबाटै ठेगान लगाउनुपर्ने बताएका थिए ।
पौडेलको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘प्रधानमन्त्री ओली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि नै सकाउने खेलमा लागेका छन्, लोकतन्त्रको रक्षा गर्न देशव्यापीरुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता आइलाग्यो ।’
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले माघ ३ गते ७ सय ५३ पालिकामा, माघ ८ गते ६ हजार ७ सय ४३ वडामा प्रतिनिधिसभा विघटनको विरोध प्रदर्शन गर्ने निर्णय भएको बताए । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको बताउँदै शर्माले कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको बताए । नेपाल समाचारपत्रबाट