कांग्रेसको महासमिति बैठक मंसिरमा

| 2018 Aug 25 | 06:52 pm 1840

काठमाडौं, भाद्र ९: नेपाली कांग्रेसले महासमितिको बैठक दुई महिनापछि सरेको छ। केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यसअघि गत वैशाख १६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनाभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको विधान मस्यौदा समितिले दुई साताभित्र विधानको मस्यौदा सम्पन्न गर्न नसक्ने र त्यसपछि चाडपर्व सुरु हुने भएकाले मंसिरमा महासमिति बैठक गर्ने प्रस्ताव गरेका थिए।

सो प्रस्ताव बैठकको सर्वसम्मतीले स्वीकृत गरेको कांग्रेस नेता रामकृष्ण यादवले जनाकारी दिए। आन्तरिक विवादका कारण पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समिति भने गठन हुन सकेन।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसअघि नै सदस्य संख्याको अनुपातमा आफ्नो पक्षले पाउनु पर्ने माग गरेका कारण कार्यसम्पादन समितिमा सहमति जुट्न नसकेको हो। अनुशासन समितिको काममा निष्पक्ष र पारदर्शिता हुनुपर्ने भएकाले समितिमा बस्ने सदस्यहरु सर्बस्वीकार्य हुनुपर्नेमा पौडेल पक्षले जोड दिएको छ।

बिहान ११ बजेका लागि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको भएपनि संस्थापन र संस्थापन इतर पक्षबीच सहमति हुन नसक्दा अपरान्ह ४ बजेपछि मात्र बैठक सुरु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.