-
अमृत भण्डारी
नेपाल विद्यार्थी संघ अथवा नेवि संघलाई नेपाली कांग्रेसका नेता उमार्ने नर्सरी मानिन्छ । पार्टीको मात्रै होइन कांग्रेसका अन्य सबै भातृ संगठनहरुका नेता तथा कार्यकर्ता उमार्ने नर्सरी पनि हो नेविसंघ । नेविसंघ निस्कृय भयो भने अरु भातृ संस्थाहरुमा समेत नेता तथा कार्यकर्ता आपुर्तिको भण्डार पनि समाप्त हुन्छ । त्यो संकेत यतिबेला देखिइसकेको छ ।
नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्य समितिलाई हेर्ने हो भने सभापति शेरबहादुर देउवा देखि प्राय सबै पदाधिकारीहरु नेविसंघरुपी नर्सरीका उत्पादन हुन् । केन्दी्रय सदस्यहरुमा पनि ८० प्रतिशत भन्दा बढी नेविसंघबाटै हुर्केका नेताहरु निर्वाचित भएका छन् । त्यसैले नेविसंघ भनेको नेपाली कांग्रेसका नेता उत्पादन गर्ने कारखाना हो भन्ने पुष्टि गर्न अरु धेरै उदाहरण दिइरहनै पर्दैन । आफ्नै रोजाईका कारण संस्थापक अध्यक्ष विपिन कोइराला ओझेलमा परेको अवस्था बाहेक नेविसंघका अहिलेसम्मका प्राय सबै अध्यक्षहरु नेपाली कांग्रेसको राजनीतिमा तथा मुलुकको सत्ता संचालनमा प्रभावशाली भुमिकामा छन् । नेविसंघका पूर्व अध्यक्ष धनराज गुरुङ यतिबेला नेपाली कांग्रेसको उपसभापति छन् । विश्वप्रकाश शर्मा महामन्त्री छन् । किशोरसिंह राठौर सहमहामन्त्री छन् । विमलेन्द्र निधि र कल्याण गुरुङले १४औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । प्रदीप पौडेलले महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थिए । ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, एनपी साउद, गोविन्द भट्टराईदेखि नैन सिंह महर र राजिव ढुंगाना सम्मका नेवि संघका पूर्व अध्यक्षहरुले सानदार मत ल्याएर कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव जितेका छन् ।
२०२७ साल बैसाख ६ गते राष्ट्रियता, लोकतन्त्र र विद्यार्थी एकताको आदर्शका साथ स्थापना भएको नेविसंघले त्यस यता जनअधिकार प्राप्तीका लागि भएका हरेक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको छ । लोकतन्त्र र क्रान्तिको पर्यायवाचीका रुपमा रहेको नेविसंघले शैक्षिक स्तर तथा सामाजिक चेनतास्तर बृद्धिका लागि गरेको संघर्ष पनि युवा जगतका लागि प्रेरणादायी रहँदै आएको छ ।
तर पछिल्लो समयमा नेविसंघ करिव करिव धरासायी बनेको छ । केही वर्ष यता त नेविसंघ कोमामा पुगेको छ । मरिसक्यो की ? जिवित छ ? भन्ने कुरा धेरैले थाहा पाएका छैनन् । नेविसंघ यो हालतमा एक्कासी पुगेको भने होइन । पंचायतकालमा मुलुकका लागि बलिदान दिन तयार युवाहरु मात्रै नेविसंघमा समाहित हुने गर्थे अवसरवादीहरु नेविसंघमा सामेल हुने कुनै गुन्जायस नै थिएन । पार्टीले व्यापक प्रशिक्षण गथ्र्यो, नेविसंघका नेता तथा कार्यकर्ताहरुले विसाद अध्यायन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सुक्ष्म अध्ययन तथा विश्लेषण गर्ने गर्थे । यस क्रममा उनीहरुले पटक पटक जेल जानु पर्यो । नेविसंघका होनाहार नेताहरु पंचायतकालमा मारिए, कामेश्वर मण्डल, कुशेस्वर मण्डल, लीला दाहल, ठगी दाहल, राम उपाध्याय, लक्ष्मण उपाध्याय, राम थापा, लगायत नेविसंघका सयौं नेताहरुले पंचायती व्यवस्था विरुद्धको संघर्षमा ज्यान गुमाएका छन् । सर्वश्व अपरहणमा पर्ने, लामो समय कारावास तथा निर्वासनमा पर्ने, भौतिक तथा मानसिक आक्रमणमा पर्ने नेविसंघका नेता तथा कार्यकर्ताहरुको संख्या त हजारौं छ । जसका कारण नेविसंघको संगठन फलाम खारेर बनाइएको स्पात जस्तो बलियो बनेको थियो । नेविसंघका नेता तथा कार्यकर्ताहरु समाजका आदर्श पात्र बनेका थिए ।
२०४६ सालको परिवर्तनपछि नेविसंघको आकार बढ्यो । धेरै युवा नेविसंघमा आकर्षीत भए, तर अधिकांश युवा बलिदानका लागि नभएर केही पाउने स्वार्थका लागि आकर्षित भए । नेपाली कांग्रेसले पनि को आदर्श र बलिदानका लागि आकर्षित भएको हो ? को अवसरका लागि नेविसंघको सदस्य बनेको हो ? भन्ने छुट्याउने संयन्त्र बनाउन सकेन । जसका कारण योगदान र आदर्शका लागि नेविसंघ बन्नेहरुलाई अवसरवादीहरुले विस्थापित गर्दै लगे । पंचायतकालमा सत्ताधारीहरुको संगठन नेपाल राष्ट्रवादी विद्यार्थी मण्डल (मण्डले) कै शैलीमा नेविसंघलाई अघि बढाउने गल्ती २०४८ साल पछि भएको तीतो यर्थाथता हाम्रा सामु छ ।
यतिबेला नेविसंघ जीवन मरणको दोसाँधमा छ । पछिल्लो अवस्थालाई हेर्ने हो भने दुई –दुई वर्षमा हुनु पर्ने नेवि संघको महाधिवेशन २०७३ साल यता हुन सकेको छैन । २०७३ सालमा सम्पन्न नेविसंघको ११ औं महाधिवेशनले नैनसिंह महरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गर्याे । तर पटक पटक म्याद थप्दा पनि यो समितिले १२औं महाधिवेशन गराउन सकेन । ६ महिना भित्र महाधिवेशन गराउने कार्यादेशका साथ राजीव ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरियो तर दुई वर्ष वित्दा पनि महाधिवेशन गराउन सकेन । राजीव ढुंगाना १४औं महाधिवेशन मार्फन नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए पछि नेविसंघ फेरी कोमामा पुग्यो । २०७८ फागुन ३ गते बसेको नेपाली कांग्रेसको बैठकबाट डुजाङ शेर्पालाई नेवि संघको अध्यक्ष तोकियो, तर पाँच महिना वितिसक्दा पनि कार्य समितिले पूर्णता पाउन सकेको छैन ।
यसरी लामो समयसम्म नेवि संघ सिथिल हुँदा नेपाली कांग्रेस रुपी नसरीमा नयाँ विरुवा उम्रन छाडेको छ । पुराना रुख बुढा हुँदै जाने र नयाँ विरुवा नउम्रने अवस्था उत्पन्न भयो भने जंगल कुनै पनि हालतमा जोगिँदैन । अब नेपाली कांग्रेसको पनि उपेदियाता सकियो भन्ने निश्कर्षमा पार्टीका नेताहरु पुगेका हुन् भने ठिकै हो । बालेन साह, हर्क साङपाङहरुको उदय भए जस्तै केही न केही विकल्प आउने नै छ । युवा जगत बुढा नेताहरुको भर परेर अवश्य बस्दैन । तर नेपाली कांग्रेसको उपदेयिता यो मुलकमा छ भन्ने नेताहरुको दृष्टिकोण मरेको छैन भने यथाशिघ्र नेविसंघको केन्द्रीय समितिलाई पूर्णता दिएर १२औं महाधिवेशनको तयारी गर्न ढिलाई गर्नु हुन्न । स्कुल, कलेज, विश्व विद्यालय तथा पालिका स्तरमा नेविसंघको इकाई गठन गर्दै प्रशिक्षण अभियानलाई तिब्रता दिनु पर्छ ।
जसले जे भने पनि हाम्रो मुलुकमा नेपाली कांग्रेसको उपदेयिता समाप्त भएको होइन की, झन बढेर गएको छ । लोकतान्त्रिक शासन व्यवस्थालाई मुलुकको साधन मात्रै होइन साध्य समेत मान्ने पार्टी नेपालमा नेपाली कांग्रेस मात्रै हो । जबसम्म यस्तै आदर्श बोकेको भरपर्दो पार्टी नेपालमा स्थापित हुँदैन तब सम्म नेपाली कांग्रेसको उपदेयिता झन बढेर जान्छ । नेपाली कांग्रेस जोगाउने हो भने नेविसंघलाई सक्रीयताका साथ अघि बढाउनु बाहेक अर्को विकल्प छैन । नेविसंघ निष्कृय भएको करिव एक दशकको अवधीले मुलुकमा खतरानाक संकेत दिएको छ । नयाँ युवा पुस्ताले अर्कै बाटो तय गरिसकेको संकेत देखिएको छ । किनकी युवा पुस्ता कहिल्यै पनि कुरेर र ढुकेर बस्दैन । नदीको पानी जस्तै युवा पुस्ता पनि निरन्तर आफ्नो गतिमा अघि बढिरहन्छ ।
(लेखक नेविसंघ गुल्मीका सदस्य हुन्)