कांग्रेसका सभापति देउवाद्वारा शुभकामना

| 2020 Nov 16 | 08:13 am 2116

काठमाडाैं, मंसिर १ः तिहार पर्व तथा नेपाल संवतकाे अवरसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिएका छन् । सभापति देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवतकाे नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ, तिहारले पनि हामी बीचको एकतालाई अझ मजबुत बनाएको छ ।’ तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरूबीच तथा आफन्तहरूबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यसैगरी वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ भन्दै सभापति देउबाले शुभकामना सन्देशमा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको उल्लेख गरेका छन् । नेपाल संवतकाे नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने बताउँदै सभापति देउवाले यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको उल्लेख गरेका छन् । शङ्खधर साख्वालाई उहाँको उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको हो ।

सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवतकाे नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल संवतकाे नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.