-
वसन्त भुजेल
नेपाली कांग्रेस भनेको अत्यन्त विवेकशील र दूरदृष्टि भएका नेता तथा कार्यकर्ताहरुले भरिएको पार्टी हो भन्ने कुरालाई १४औं महाधिवेशनको परिणामले फेरि एक पटक पुष्टि गरेको छ । कुनै पनि प्रतिस्पर्धामा एक जनाले जित्छ, अर्कोले हार्छ । यो प्रतिस्पर्धाका नियम नै हो । तर नेपाली कांग्रेसको १४औं महाधिवेशनका प्रतिनिधिहरुले सभापति पदका सबै प्रतिस्पर्धीहलाई जिताइ दिएका छन् । सभापति पदका लागि प्रतिस्पर्धामा उत्रेका सबैजना यतिबेला खुसी महशुस गरिरहेका छन् । फेरि वागडोर सम्हाल्ने मौका पाउनु भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा धेरै खुसी हुनुहुन्छ । सम्मानजनक मत प्राप्त गर्दै नयाँ हैसियतमा पुगेकोमा डा. शेखर कोइराला पनि देउवा भन्दा कम खुसी हुनुहुन्न । प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङ एक ठाउँमा उभिएर हसिलो अनुहारका साथ देउवालाई मत माग्दै गरेको दृश्यले महाधिवेशेन प्रतिनिधिहरु पनि खुसी देखिएका छन् । आफूले मत मागेको उम्मेदवारले जित्नु भनेको प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङको पनि जित हो ।
नेपाली कांग्रेसमा नयाँ नेतृत्वको उदय होस् भन्ने चाहना कार्यकर्ता तथा जनताले राखेको यथार्थतालाई विर्सन मिल्दैन, तर भावनाले मात्रै राजनीति चल्दैन । देउवा नेपाली कांग्रेसको सभापति मात्रै नभएर मुलुकको प्रधानमन्त्री पनि हुनुहुन्छ । प्रधानमन्त्री पदमै रहेर चुनावमा होमिनु भएका देउवाका लागि पराजित हुने छुट थिएन । यदी देउवा पराजित भएको भए नेपाली कांग्रेसले अस्वीकृत गरेको ठहर हुन्थ्यो । आफ्नै पार्टीबाट अस्वीकृत व्यक्ति कसरी प्रधानमन्त्री हुन्छ भन्दै नैतिकताको कारण देखाएर देउवाको राजीनामा मागिने सम्भावना बढ्थ्यो । देउवालाई राजीनामा दिन वाध्य पार्ना साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेस र आफ्नो पार्टीबाट फुटेर गएको माधव नेपाल समुहलाई समाप्त पार्ने डिजाइन अघि सार्ने सम्भावना रहन्थ्यो । चुनावको मुखमा नेपाली कांग्रेसलाई सत्ता च्युत गरेर फेरी एमाले माओवादी गठवन्धन भएको भए मुलुक खतरनाक परिस्थिति तर्फ उन्मुख हुने थियो । यो खतराबाट नेपाली कांग्रेस बचेको छ । मुलुक पनि बचेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले १४औं महाधिवेशनमा जोखिम मोलेरै सभापति पदमा उम्मेदवारी दिनु भएको आशंकालाई भने पहिलो चरणको मत परिणामले पुष्टि गर्यो । प्रधानमन्त्री समेत रहनु भएका देउवासँग राज्य संयन्त्रका सूचना स्रोत पनि प्रसस्त थिए । आफूसँग ५० प्रतिशत मत रहेको सुनिश्चित गरेर मात्रै देउवा सभापति पदमा उम्मेदवार बन्नु भएको होला भन्ने आँकलन धेरैको थियो । कृष्णप्रसाद सिटौला समुहसँग समेत गठवन्धन गरी चुनावमा होमिएका कारण देउवाले आफ्नो जित सुनिश्चित बनाउनु भएको होला भन्ने आँकलन पनि धेरैको थियो । तर पहिलो चरणको परिणामले त्यो आँकलनलाई असत्य सावित गरिदियो । सभापति बन्नका लागि अवश्यक मत देउवाले पहिलो चरणमा नपाएपछि नेपाली कांग्रेस गम्भीर खतराको मोडमा पुग्यो । यो खतराबाट नेपाली कांग्रेसलाई बचाउने दायित्व एकाएक प्रकाशमान सिंह र विमलेन्द्र निधि जस्ता सुझबुझ भएका नेताहरुको काँधमा आयो । सिंह र निधिले अत्यन्त सुझवुझ अपनाउँदै देउवालाई साथ दिनु भयो । सिंह र निधिको साथले मात्रै खतरा नटर्ने विश्लेषणका साथ वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवाका पक्षमा मैदानमा उत्रनु भयो । यति मात्रै होइन निवर्तमान महामन्त्री डा.शशांक कोइराला र पुर्वउपप्रधानमन्त्री सुजाता कोइराला समेत आफ्नै दाजु डा. शेखर कोइरालाको पक्षमा लाग्न छाडेर देउवालाई जिताउन मैदानमै उत्रनु भयो । दोस्रो चरणको निर्वाचनमा सारा महारथीहरु देउवाको पक्षमा उभिनुको निश्चित कारण थियो । उहाँहरु देउवाको मायाँले उभिनु भएको होइन, कांग्रेसको मायाँले , लोकतन्त्रको मायाँले सबै महारथीहरुलाई देउवाको पक्षमा उभ्याएको हो । देउवा पराजित हुँदा कांग्रेस नै पराजित हुने अवस्था बनेको थियो । यतिधेरै महारथीहरु देउवाको पक्षमा उभिँदा पनि डा. शेखर कोइरालाले पहिलो चरणमा भन्दा दोस्रो चरणमा ४ प्रतिशत मत वृद्धि गर्नु भयो । यो मत वृद्धि भनेको डा. कोइरालाको पनि जित हो ।
यो महाधिवेशनको परिणामले भनेको देउवालाई कार्यशैली सुधार्न दिएको निर्देशन पनि हो । यदी प्रधानमन्त्री पदमा रहेका कारण देउवा सँगै नेपाली कांग्रेसको भाग्य जोडिएको छ । यदी देउवा सँगै नेपाली कांग्रेसको भाग्य नजोडिएको अवस्था हुँदो हो त महाधिवेशनको परिणाम अर्कै आउने निश्चित रहेछ । पहिलो चरणको निर्वाचनमा देउवाले जित्न नसक्नु भनेको सामान्य संकेत होइन । यथास्थितिका देउवालाई अस्वीकृत गरी सुधार सहितका देउवालाई महाधिवेशन प्रतिनिधिहरुले चुनाव जिताएका हुन् । जुन विश्वासका साथ देउवालाई १३औं महाधिवेशनमा कार्यकर्ताहरुले चुनाव जिताएका थिए, त्यो विश्वासलाई देउवाले निरन्तरता दिन नसकेको १४औं महाधिवेशनको परिणामले पुष्टि गरेको छ । किनकी सिटौला समुहको साथ पाउँदा पनि १४औं महाधिवेशनको निर्वाचनमा देउवाले पहिलो चरणमै चुनाव जित्न सक्नु भएन । यर्थाथमा भन्नु पर्दा पहिलो चरणको निर्वाचन परिणाम यथास्थितिका देउवाको विपक्षमा गएकै हो । दोस्रो चरणको निर्वाचन परिणाम परिवर्तन सहितका देउवाको पक्षमा गएको हो । दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएको भन्दै वरिष्ठ नेता पौडेल, नेताहरु सिंह, निधि, सु्जाता, डा. शशांक लगायत माथि एकथरीले सामाजिक संजालमा व्यापक आक्रोस प्रकट गरेको देखिएको छ । नेतृत्व परिवर्तनको सम्भावनालाई निस्तेज गरेको, देउवालाई थप निरंकुश बनाएको आरोप उहाँहरु माथि लगाइएको छ । यो आरोपलाई निरर्थक सावित गर्ने जिम्मेवारी सभापति देउवाको हो ।
जसरी २०३७ सालको जनमत संग्रहमा तत्कालिन राजा वीरेन्द्रले निरंकुश पंचायती व्यवस्थाका लागि मत नमागेर सुधार सहितको पंचायती व्यवस्थाका लागि मत माग्नु भएको थियो, त्यसरी नै कांग्रेसको दोस्रो चरणको निर्वाचनमा वरिष्ठ नेता पौडेल, नेताहरु सिंह, निधि, सु्जाता, डा. शशांक लगायतले यथास्थितिका देउवाको पक्षमा मत नमागेर सुधार सहितका देउवाको पक्षमा मत माग्नु भएको थियो । जसरी जनमत संग्रहमा पंचायतले जिते पछि आफ्नो बाचा अनुसार तत्कालिन राजा वीरेन्द्रले मतदानको माध्यमबाट जनप्रतिनिधिहरु छानिने परिपाटी बसाल्दै पंचायती व्यवस्थालाई प्रजातान्त्रीकरण गर्नु भएको थियो, त्यसरी नै सभापति देउवाले आफ्नो कार्यशैलीलाई परिवर्तन गर्नु हुनेछ भन्ने विश्वास कार्यकर्ताको छ । बाध्यता बस नेपाली कांग्रेसले तीन वटा ठूला निर्वाचनको संघारमा १४औं महाधिवेशन गर्नु पर्यो । महाधिवेशनका क्रममा वडा तहदेखि नै आन्तरिक प्रतिस्पर्धा भएको छ । आन्तरिक प्रतिस्पर्धाका नाममा कतिपय प्रतिस्पर्धी वीच बोलचाल समेत बन्द भएको अवस्था छ । त्यसैले आगामी आम निर्वाचनमा उम्मेदवार चयन गर्दा विशेष ध्यान पुर्याउनु पर्छ भन्ने हेक्का सभापति देउवाले राख्नै पर्छ । २०५६ सालको आम निर्वाचनमा होमिनु अघि जे जस्तो रणनीति अपनाएर तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई बहुमत दिलाउनु भएको थियो, त्यही रणनीति अबका तीन वटै ठूला निर्वाचनमा देउवाले अपनाउनु भयो भने नेपाली कांग्रेसलाई पराजित गर्न कुनै पनि ताकतले रोक्न सक्दैन । अब पार्टी सभापति पद हात लागि हाल्यो, फेरी छैठौं पटक प्रधानमन्त्री बन्छु भन्ने मानसिकताका साथ देउवाले नेपाली कांग्रेसलाई चुनावमा होम्नु भयो भने गत आम निर्वाचनको भन्दा पृथक हालत हुने छैन । देउवा र सिटौलासँग मात्रै कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको बहुमत छैन, वरिष्ठ नेता पौडेल, नेताहरु सिंह, निधि, सु्जाता, डा. शशांक लगायत नेताहरुको सहयोगले मात्रै आफुले महाधिवेशन प्रतिनिधिहरुको बहुमत हासिल गरेको यर्थाथता देउवाले बुझ्नु पर्छ । सम्पूर्ण महारथीहरु विपक्षमा उत्रँदा पनि डा. कोइरालाको पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरु किन उभिए ? भन्ने यर्थाथतालाई देउवाले बिर्सनु भयो भने कांग्रेसलाई पतन हुनबाट कुनै शक्तिले रोक्नेवाला छैन ।
(लेखक भुजेल नेपाली कांग्रेस गुल्मी १ का महाधिवेशन प्रतिनिधि हुन्)