कांग्रेसका प्रमुख सचेतकले औंल्याए गम्भीर खतरा

रिपोर्ट नेपाल | 2018 Jun 03 | 07:51 am 1348

नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको अधिवेशन राजधानीमा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा आतिथ्यता जनाउन पुगेका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । कम्युनिस्ट एकतालाई अवसरका रुपमा लिएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा अघि सार्दै नेता खाणले कांग्रेसभित्र संघर्षका दिन शुरु भएको स्वीकार गरे । यसर्थ, एक आपसमा दोषारोपण गर्नुभन्दा अब संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उनको तर्क थियो ।

नेपालको प्रजातान्त्रिक मूल्य मान्यता धरापमा पर्दै गएको भन्दै उनले कांग्रेसलाई बलियो बनाएर नलगे समस्या झन् बढ्ने र देशको अस्तित्वमै खलल पर्ने सम्मको सम्भावना औंल्याए ।

सोही अवसरमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य दीलबहादुर घर्तीले कम्युनिस्टले संसदमा दुईतिहाइको बहुमत देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । आदर्श र सिद्धान्तमा कांग्रेस कहिल्यै विचलित नहुने भन्दै उनले हरेक चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको प्रष्ट्याए ।

नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, सम्पर्क समितिका उपाध्यक्ष हरि गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, लमजुङ पूर्वपार्टी सभापति एवं सांसद चन्द्रबहादुर कुँवर, लमजुङ पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, कांग्रेस लमजुङका सचिव हरि बराल, महाधिवेशन प्रतिनिधि गर्जबहादुर गुरुङलगायतले पनि कार्यक्रममा आआफ्नो मन्तव्य राख्दैलमजुङमा बलियो कांग्रेस निर्माण गर्न गुट उपगुटको अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

०३८ सालमा स्थापना भएको लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलले संस्था लमजुङमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाई बस्ने प्रजातन्त्रवादीको साझा थलोका रुपमा रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.