कांग्रेसकाे रूखमा नयाँ पालुवा लाग्ने – महामन्त्री शर्मा

रिपोर्ट नेपाल | 2023 Jun 17 | 04:05 pm 2225

काठमाडौं, असार २ । नेपाली कांग्रेसका महामन्त्री एवं संघिय सांसद विश्वप्रकाश शर्माले नेतृत्वमा देखिएको आवेग कार्यकर्तासम्म पुग्ने भएकोले नेतृत्वलाई संवेदनशिल हुन सुझाएका छन् । महामन्त्री शर्माले उक्त कुरा आज शनिवार नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दा बताएका हुन् ।

महामन्त्री शर्माले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली तर्फ इंगित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताले उठेर विरोध जनाएको प्रसंग जोड्दै उनले भने, ‘मलाई अचम्म लाग्छ, यो देशको प्रधानमन्त्री बोल्दै गर्दा पूर्व प्रधानमन्त्री उभिनु हुन्छ । किन भन्दाखेरी विरोध गर्नलाई । त्यो कति सोभनीय विषय छ, त्यो कति आवेगको विषय छ, त्यसैले आवेग जब त्यो तहको नेतृत्वबाट आउँछ तब कार्यकर्तामा आवेग पुग्छ नै ।’

आवेगलाई राजनीतिबाट मुक्त गर्नका लागि कांग्रेस, एमाले, माओवादी लगायतका नयाँ दलका नेतृत्व पंतिले सोच्न पर्ने शर्माको भनाई रहेको छ । नेता, कार्यकर्ता र युवाहरुमा देखिएको आवेगले यो देशमा केही हुँदैन भन्ने भाष्य स्थापित गरेको उनले बताए । तर, वास्तविकता त्यस्तो नभएको र अपेक्षाकृत उपलब्धी नभएपनि क्रमिक रुपमा विकास भइरहेको उनको भनाई रहेको थियो ।

कांग्रेसका पुराना वृक्ष पहेँला भएपछि नै नयाँ पालुवा पलाउने उनको दाबी छ । ‘नेपाली कांग्रेसभित्र पुरानो शैली पनि छ, नवीन शैली पनि छ । त्यहीभित्र पुरातनता पनि छ र नवीनता पनि छ । नेपाली कांग्रेसभित्र वृक्ष पुरानो र पहेँलो भएपछि नयाँ पालुवा पलाउँदै जान्छ । समस्या पनि छ र समाधान पनि नेपाली कांग्रेसभित्रै छ,’– शर्माको कथन थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.