काँग्रेसको नेतृत्वमा देश समृद्ध हुन्छ, त्यसका लागि सबै एकजुट हौं : सभापति देउवा

| 2019 Mar 11 | 06:52 pm 1537

पर्वत, फागुन  २७ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा देश समृद्ध हुने बताएका छन् ।

जलजला गाउँपालिका ४ मोहनचोकमा काँग्रेस जलजला गाउँपालिकाको कार्यालय भवन उद्घाटन एवं मोहनबहादुर मल्ल स्मृति भवनको शिलान्यास गर्दै सभापति देउवाले काँग्रेसको नेतृत्वमा देशको समृद्धि हुने र त्यसका लागि सबै एकजुट हुनु पर्ने बताए ।

सुख र समृद्धिको नारा लगाएको कम्युनिस्ट सरकारले जनतामाथि महँगी, भ्रष्ट्राचार र लगायत अन्याय गरेको सभापति देउवाले आरोप लगाए ।

नेपाली काँग्रेस जलजला कार्यसमितिले निर्माण सुरु गरेको पार्टी भवनको कामको प्रशंसा गर्दै देउवाले भवनको लागि जग्गा प्रदान गर्ने स्व मोहनबहादुर मल्लको परिवार र भवन निर्माणको अभियान थाल्ने जलजला गाउँपालिकाका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ललाई समेत बधाई दिए ।

साे कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको नीति, नेतृत्व, कार्यकर्ताहरूको समर्पण र योगदानको उच्च सम्मान गर्दै उनीहरूको योगदानका कारण काँग्रेस आज पनि बलियो अवस्थामा रहेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.