- कमल पौडेल अथक
पोखरा, कार्तिक २६ : नेपाली काँग्रेस कास्की क्षेत्र नं- २ को निर्वाचन प्रचार प्रसार अन्तर्गत र बुधबार पोखरा १७ मा घर दैलो अभियान गरेको छ । विरौटास्थित राममन्दिरबाट उक्त घरदैलो अभियान सञ्चालन गरिएको हो ।
अभियानमा काँग्रेस उम्मेदवार खेमराज पौडेललाई जिताउन भन्दै पोखरा पुम्दी भुम्दीका ८३ वर्षीय वृद्ध थमबहादुर गुरुङ दिनभरि घरदैलोमा जुटेका थिए । उनले काँग्रेसमा निष्ठावान् व्यक्ति उठेको भन्दै आफू बुढेसकालमा पनि पछिपछि लागेको बताए ।
काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल सँगै खेमराज पौडेल भोट माग्न घरदैलोमा पुगेपछि स्थानीयवासीले खुसी प्रकट गरेका थिए । सो अवसरमा स्थानीय जनताले पानी, बाटोघाटोको असुविधा जस्ता कुराको माग गरेका थिए ।
स्थानीय भगवती शर्माले जसले पानी दिन्छ उसैलाई भोट दिने बताइन् । विगतको चुनावमा भोट माग्न आउनेले पानी नदिएको भन्दै अहिले जसले पानी घरमा ल्याइदिन्छ उसैलाई भोट दिने बताइन् ।
काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले यो निर्वाचन मार्फत वर्तमान सरकारका बदमासी विरुद्ध भएकोले रुख चिन्हमा मतदान गर्न स्थानीय मतदातालाई आग्रह गरे ।