कस्को आशिर्वादमा बारामा तस्करी चलेको छ ?

| 2022 Aug 18 | 07:28 pm 2213

बारा, भदौ २ः बाराको पथलवाघाटबाट यतिबेला लागूऔषध देखि भन्सार छली गरि विभिन्न किसिमका सामान स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा खुलेयाम तस्करी भइरहेको छ ।नेपालबाट लागूऔषध गाँजा र भारतबाट प्रतिबन्धित लागूऔषध र प्रतिबन्धित औषधि देखि भारतीय बजारमा सस्तो र नेपाली बजारमा महँगो पर्ने सामानहरु अहिले भन्सार छली भएर नेपाल भित्रिरहेको व्यापारीहरु बताउँछन् ।

अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै चिनी, कस्मेटिक, तयारी पोषाक, सूर्तीजन्य पदार्थ, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयरका सामानहरु, किरानाका सामानहरु, कपडा, खाद्यान्न, इलेक्ट्रोनिकका सामानहरु र सुटिङ, सटिङका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ ।

कसरी हुन्छ प्रहरी सेटिङ ?
सीमा क्षेत्रमा हुने तस्कर प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय बजारबाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् । सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाएसम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ । पथलवाघाट नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । यस नाकाबाट १ दर्जन जति तस्करहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् ।

पथलवाघाटमा अहिले तस्कर गर्नेहरु कोही भारतीय नागरिक छन् भने कोही नेपाली नै छन् । यी तस्करहरुको काम सँधै सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् । स्रोतका अनुसार कपडा देखि अन्य सामान, गाई भैसीको तस्करीको लाइन पाउनेमा भारतका अकर्वा घर भएका नवल यादव र जुमानु छन् भने नेपालीमा प्रमोद यादव रहेका छन् । यस्तै प्रकाश सहनीलाई राँगा, भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ ।

त्यस्तै छोटेलाल पटेल, दीपक यादव, रविन्द्र साह, भोला यादव, बच्चा यादव, प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ ।असइ बिरेन्द्र यादवले तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम सिम्रौनगढका निरीक्षकलाई समेत पुर्याउने गरेको खुलेको छ। यसका अलवा यो नाकाबाट औषधीको र लागूऔषधको अबैध कारोवार समेत हुने गरेको छ। औषधी भनेर अन्य सामानको तस्करी हुने र त्यस्ता सामान असइ बिरेन्द्र यादवले व्यारेकमा जम्मा गरे पछि जसको सामान हो उसैलाई रकम लिएर दिने गरेको समेत खुलेको छ। पहिले पक्राउ गरे जस्तो गरेर समाउने अनि पछि रकम लिएर सम्बन्धित व्यक्तिलाई दिने गरेको स्थानीयहरू बताउँछन् ।

त्यस्ता कार्टुन भित्र के कस्ता तस्करीका सामान छन् भन्ने कुरा कि त ल्याउने कि त प्रहरीलाई मात्र थाहा हुने गरेको स्थानीयको भनाइ छ।सबैभन्दा आश्चर्यको कुरा त के छ भने पथलवाघाटका असई बिरेन्द्र प्रसाद यादवको प्रत्यक्ष संलग्नतामा लागूऔषध देखि भन्सार छली गरि विभिन्न किसिमका सामानको तस्करी भइरहेको समाचार स्रोतले बताएको छ ।

सबैभन्दा आश्चर्य र रहस्यको विषय भनेको जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका अस्थाई प्रहरी पोस्ट पथलवाघाटका प्रहरी सहायक निरीक्षक बिरेन्द्र प्रसाद यादव नै यस्तो अवैध कारोबारमा मासिक नजराना खाएर कारोबार सञ्चालनमा ल्याउँदा समेत बारा प्रहरी बेखवर मौन देखिनुले शंका उपशंकाको विषय बनेको छ । मकवानपुर र बारामा पनि यादव घुमुवाको रूपमा कार्य गरेका थिए । ज्यादै बदनाम भए पछि उनलाई प्रहरी मुख्यालयले पूर्व क्षेत्र अर्थात हालको एक नम्बर प्रदेश सरूवा गरेको थियो । अहिले फेरि असई भए पछि बारामा आए लगत्तै उनी तस्करीको अखडा पथलवाघाट गएपछि फेरि तस्करीको लाइन चलाएका छन् ।

पर्सा जिल्ला घर भएका असई बिरेन्द्र प्रसाद यादव चितवन बस्दा जबर्जस्ती करणीको आरोपमा ५ वर्ष निलम्बन परेका ब्यक्ति हुन् ।

एक बहालवाला डिआइजीको नाम लिँदै आफूलाई कसैले केही गर्न नसक्ने भन्दै यादव छाती खुल्ला पारेर तस्करीको लाइन चलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.