प्रियकवि
मूल्यांकनको ड्यासमा उभिएका मेरा कविता
निकृष्ठ भएपनि
नमिल्काइदिनु फोहरको डंगुर सरह
बरु पराग छर्किएर बक्यौता शब्दहरु
थपि दिउँला तिम्रो फैसला पछी
मैले गुरु कवि सम्झिएर
सुभेच्छुकबन्दै चढाएको हजुरिया
अहमताको गर्जन नसम्झिनु
म सँग पानफूल छैन
न त चिल्लो मिठासता छ
ऐले त आदरताबाट पनि खस्किएर बोल्दै छुँ
हुन सक्छ
म कुहिरोले हराएको लेकमा
गोलकाँक्री खोज्दै मनोहर सुनसानमा हराउँदा
तिम्रो नजरले भेटाएन टाढाका कविताहरु
नजरमा पर्दा बनेको कुहिरो
कविता चराउदै डुलिरहेने कवि
बर्खाको कचिलोमा रुझेका
हिउँदको सर्दिमा कठ्याङ्ग्रिएका
दुरदराजका खुइलिएका , मैलिएका , च्यात्तिएका , झुत्रीएका
कविताहरुलाई कतै बेठेगान त सम्झिएनौ ?
त्यस्तो सुदिन त छैन तिम्रो अगलबगलमा जस्तो
सिंगमरमरको संसार
बिदुरहरुको स्याबासीको लालमोहर
भव्य रंगमञ्च
तै पनि मेरा कविताहरु सिँगौरी खेलिरहन्छन
रनवनको माधुर्यतामा
सुसेलिन्छन बतासको सुस्केरामा
मुस्कुराउछन हिमगिरीको मुस्कुराहटमा
यतापनि बालेर अगेनामा आगो –सराङमा हेर्दै
पुर्खाले सिकाएको सरगममा –गुनगुउदै कविताहरु
सहरकी सुन्दरी मैले पनि कल्पिने गरेको छुँ
बरु तिम्रै दुर्नाम सहौला
स्वीकार्य होस या नहोस
गादोभरी कविताहरु भरेर
शहरभरी छरपस्टाइ दिने मन छ
प्रियकवि
त्यसपछीपनि
कविताको अदालतमा कसुर ठहरिएछन भने
इमान्दार पुर्बक श्मशानमा पुर्याइदिनु मेरा कविताहरुलाई
कविताको मलामी बनेर ।