काठमाडौँ, कात्तिक १: चक्रपथको कलङ्की–महाराजगञ्ज सडक खण्ड विस्तारको अन्तिम तयारीमा पुगेको तीनवटा ‘अन्डरपास’ निर्माण हुने भएको छ । करिब आठ किलोमिटर चक्रपथको सो खण्डको प्रत्येक किलोमिटरको दूरीमा आकाशे पुल पनि निर्माण गरिने भएको छ । त्यसका लागि संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको सडक विभागले जानकारी दिए ।
सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले दिएको जानकारी अनुसार ‘अन्डरपास’ निर्माण गर्न चीन सरकारसँग औपचारिक प्रस्ताव स्वीकृत भइसकेको बताए ।
उनले कलङ्की चोकमा जस्तो गाडी गुड्ने तीनवटा अन्डरपास बनाइने जनाए । चक्रपथको महाराजगन्ज चोक, गोँगबु चोक र बालाजु चोकमा ‘अन्डरपास’ निर्माणका लागि पनि प्रस्ताव गरिएको जानकारी प्रमुख थापाले दिए ।
अन्डरपास निर्माणको मोडालिटी र अन्य अध्ययन गर्न यसै महिना चिनियाँ डिजाइन टोली आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस खण्डमा विद्युत्को खम्बा सार्न माग गरेको १० करोड ७२ लाख रुपियाँ सडक विभागले असारमै भुक्तानी गरिसकेको छ । गोरखापत्र दैनिकबाट