कर हटाउन माग

रिपोर्ट नेपाल | 2018 Aug 20 | 04:55 pm 1557

काठमाडौँ,  भदौ ४ : काठमाडौँ उपत्यकामा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएका विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारले सङ्कलन गर्न लागेको ढुवानी कर हटाउन माग गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा व्यवसायीको संयुक्त सङ्घर्ष समितिका संयोजक उज्ज्वल शाक्यले उद्यमीले व्यासायिक कर र आय कर सरकारलाई बुझाइरहेको अवस्थामा थप कर लगाउन नपर्ने बताए । विभिन्न नामका कर पुनःबुझाउनुपर्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने तथा व्यवसायमा पनि नकारात्मक असर पर्ने उनको भनाइ छ ।

उपत्यकामा खानेपानीको अभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रबाट सञ्चालित पानी उत्पादन तथा वितरणसम्बन्धी उद्योगमा व्यवसायीको अर्बै रुपैयाँको लगानी सुरक्षित गर्न समितिले सरकारसँग आग्रह गरेको छ । उपत्यकामा करीब ७०० ट्याङ्कर व्यवसायीले दैनिक पाँच करोड लिटर पानी आपूर्ति गर्दै आएका छन् । मुलुकको परिवर्तित संरचनामा सम्बन्धित प्रदेशभित्रका सेवा तथा वस्तुको उपभोग सम्बन्धित भूगोल तथा क्षेत्रमा प्रयोग गर्दा सरकारले निर्दिष्ट गरेको बाहेक अतिरिक्त करले व्यवसायी मारमा पर्ने जनाइएको छ ।

वर्षायाममा समेत काठमाडौँ उपत्यकामा खानेपानी २४सै घण्टा आपूर्तिमा योगदान गरेका उद्यमीलाई उनीहरुको भावना नबुझेर कर लगाइएको भन्दै अधिकांश उद्योग बन्द हुने बताइएको छ । उक्त समितिमा खानेपानी उद्यमी तथा व्यवसायी सङ्घ, उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घ, पानी ट्याङ्कर तथा स्रोत व्यवसायी सङ्घ, उपत्यका खानेपानी बोरिङ सङ्घ, नेपाल पानी ट्याङ्कर तथा स्रोत व्यवसायी सङ्घ र नेपाल बोटल वाटर उद्योग सङ्घ आबद्ध छन् । विभिन्न नगरपालिकाले चालू आवदेखि रु ३०० देखि रु ५०० सम्म ढुवानी कर उठाउँदै आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.