कर तिर्ने बानी पार्न खोजिएको अर्थमन्त्रीको दाबी

| 2018 Sep 03 | 01:36 pm 2233

जथाभावी कर लगाएर सरकारले जनतालाई दुःख दिएको भनी आलोचना बढिरहेको बेला जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने दाबी अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सप्तरीको सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा. खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका हुन् ।

एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको स्वीकार गर्दै उनले भने, ‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ ।’ करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने उनको धारणा थियो ।

विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा जोड दिँदै उनले आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुने उल्लेख गरे ।

तथापि, वास्तविकता नबुझेरै कर बढायो भन्ने हल्ला फैलाइएको भन्ने आरोप पनि उनले लगाए । यथार्थ त्यस्तो होइन भन्दै उनले स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्न खोजिएको तर्क गरे । ‘कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,’ डा. खतिवडाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.