काठमाडौँ, साउन १९ : सरकारले कर्मचारीको भत्ता, पोसाक खर्च तथा जीवन बीमा रकम वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले उल्लेख गरेअनुरुप सरकारले कर्मचारीको रकम वृद्धि गरेको हो ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको सुविधामा बढोत्तरी गरेसँगै कर्मचारीको वार्षिक पोसाक भत्ता १० हजार रुपैयाँ रहनेछ । अहिले पोसाक भत्ता बापत ७ हजार ५ सय रुपैयाँ रहँदै आएको थियो । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरूको सरुवाको निर्णय पनि गरेको छ । जसअनुसार कार्यविभागमा अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई कार्य विभाग तथा सीमा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ । अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
यस्तै बैठकले खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता २२ दशमलव ७ मिलियन अमेरिकी डलर स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । उखुको न्यूनतम समर्थन मूल्यमा परिवर्तन नगरेसम्मका लागि नेपाल सरकारले जेठ १५ देखि लागू हुने गरी उखु किसानलाई प्रति क्विन्टल रु ६० अनुदान दिने निर्णय भएको सञ्चारमन्त्री बाँसकोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले समाज कल्याण परिषदमा भएको अनियमितता छानबिन गर्न जाँचबुझ ऐन बमोजिम छानबिन आयोग गठन गर्ने निर्णय समेत भएको छ ।