कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 18 | 07:10 am 1626

खोटाङ, कार्तिक १: खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन्। जग्गा सम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैंद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की मंगलबार पक्राउ परेका हुन्।

कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनस्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। घट्नापछि भारतमा बस्दै आएका चन्द्रबहादुरलाई दसैं मनाउनका लागि दुई दिन अघि मात्र घर आएको मौका पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्कीलाई दसैंका कारण बन्द अड्डाअदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। बेला–बेलामा लुकीछिपी घर आउने गरेका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दैआएका थिए। दोषी ठहर भएपनि लामो समयसम्म फरार अभियुक्तको सुचीमा रहेका कार्कीको भारतमा हाल बसिरहेको ठेगाना पत्ता लागिसके पनि दसैंमा घर आउने सूचना पाएपछि घर आएकै मोकामा टोली पठाएर पक्राउ गरिएको डिएसपी केसीले बताए।

‘चन्द्रबहादुर मिजोरममा गाई फार्म चलाएर बसिरहेको थियो, कहिलेकहीँ घर आउने जाने गरिरहन्थ्यो। भारतमा बस्दै आएको उसको ठेगाना बारे पनि हामीलाई जानकारी भइसकेको थियो,’ डिएसपी केसीले भने, ‘तर दसैंमा घर आउदैछ भन्ने सुचनाका आधारमा हामीले पर्खिरहेका थियौँ। घर आएको दुई दिनपछि नै टोली परिचालन गरेका पक्राउ गरिएको हो।’

जग्गा सम्बन्धी बिवादकाक्रममा चन्द्रबहादुर लगायत सोही ठाउँका केशब कार्की, नरबहादुर भुजेल लगायत चार जनामाथि स्थानीय ढकबहादुर कार्कीको हत्या गरेको अभियोग छ। घट्नामा संलग्न नरबहादुर र केशबले अदालतको फैसला अनुसार कैंद भुक्तान गरिसकेका छन्। चन्द्रबहादुर र अर्का एक जना भने हालसम्म फरार थिए। नरबहादुर घट्ना लगत्तै पक्राउ परेपनि केशब पनि फरार रहेकै अवस्थामा लामो समयपछि पक्राउ परेका थिए। फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत दिक्तेलमा मुद्धा हाल्न र खेप्नका लागि आवत–जावत गर्नेक्रममा ढकबहादुरको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित तुवाचुङ जंगलमा हत्या भएको थियो।

यस्तै, भेडा चोरी गरेको मुद्धामा सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सन्तोष राई पक्राउ परेका छन्। भेडा चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट २०७४ साल भदौ ७ गते ११ दिन कैंद हुने र १५ हजार जरिवाना भराउने फैसला सुनाइएका राईलाई मंगलबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। सजाय सुनाइए पनि हालसम्म फरार रहेका राईलाई अदालत खुलेपछि पेश गरिने डिएसपी केसीले बताए। उनी बिरुद्ध जयन राईले जाहेरी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.