सुर्खेत, फागुन २५ः साेमबार कर्णाली नदीमा हामफालेका दैलेखका ५ जनामध्ये थप २ जनाको मंगलबार शव फेला परेकाे छ। फेला पर्नेमा आमा सुकी र उनका छोरा ललितको शव भेटिएको आठबीस नगरपालिका–३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए।
घरेलु हिंसाकै कारण एकै घरका ५ जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ । हामफालेका ५ जनामध्ये ३५ वर्षीया आमा सुनिता (सुकी) बडुवाल, छोरीहरु १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षे छोरा ललितको शव कर्णाली नदीमा भेटिएको हो । कल्पना र सरिताको शव सोमबार नै भेटिएको थियो। ७ वर्षीया छोरी रजनी भने अझै बेपत्ता छन्।
बेपत्ताको स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुले खोजी गरिरहेका छन्। घटनाको वास्तविकता खुल्न सकेको छैन । आत्महत्या गर्न बाध्य पारेको आरोपमा सुकीका श्रीमान् मानसिंह बडुवाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।