सुर्खेत, भदौ ११ः कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका हुन्।
माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन्।
माओवादी केन्द्रले अब उनीहरुको ठाउँमा दुई जना प्रदेश सभा सदस्यलाई मन्त्रीका लागि सरकारमा पठाउँदैछ। प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने तयारीमा छन्।
कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको सरकारमा छन्।